
झुम्का कारागारबाट फरार भएका कैदी रूपक पौडेल खत्रीलाई प्रहरीले झापाको बिर्तामोडबाट पक्राउ गरेको छ। साउन २८ गते बिहान कारागारको बी ब्लकबाट भागेका खत्रीलाई शनिबार बिहान बिर्तामोड नगरपालिका–१० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिएका छन्।
पक्राउ परेका खत्रीलाई थप अनुसन्धानका लागि सुनसरी प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। खोटाङ दिप्रङ चुईचम्पा गाउँपालिका–२ का खत्रीलाई सामूहिक बलात्कारको घटनामा संलग्न भएको अभियोगमा अदालतले पुर्पक्षका लागि २०८२ साउन २१ गते कारागार चलान गर्न आदेश दिएको थियो।
यसअघि, जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते उनलाई १३ वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना र ३० हजार रुपैयाँ क्षतिपूर्ति गर्ने सजाय सुनाएको थियो।
फरार घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ।