
भगवान् श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमी आज (शनिबार, १६ अगस्ट २०२५ / ३१ साउन २०८२) देशभर धार्मिक आस्थापूर्वक मनाइँदै छ।
पौराणिक मान्यताअनुसार द्वापरयुगको भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको थियो। यस कारण यो दिनलाई जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ।
आजका दिन कृष्ण मन्दिरहरूमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गरिनुका साथै महिला र पुरुषहरूले व्रत बसेर रातभर जाग्राम बस्ने परम्परा रहेको छ।
श्रीकृष्णले अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानवताको रक्षा गर्दै सत्य र धर्मको मार्ग देखाएको विश्वास गरिन्छ। कुरुक्षेत्र युद्धका क्रममा अर्जुनलाई दिएका उनका उपदेशहरूलाई समेटिएको श्रीमद्भागवद्गीतालाई आज विश्वकै सर्वाधिक भाषामा अनुवाद भएको पवित्र ग्रन्थ मानिन्छ।
पौराणिक कथाअनुसार बाल्यकालदेखि नै विचित्र लीलाका कारण चर्चित भएका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता राक्षसी प्रवृत्तिको संहार गरेका थिए।
यस अवसरमा आज राजधानीको पाटनस्थित मङ्गलबजारको प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लागिरहेको छ। त्यस्तै, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) लगायत देशभरका कृष्ण मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ।