
म्याग्दीको बेनी नगरपालिका–५ स्थित पुलाचौरमा लिफ्ट प्रविधिको प्रयोगबाट निर्माण गरिएको खानेपानी आयोजना सफलतापूर्वक सम्पन्न भएको छ।
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको समन्वयमा स्थानीय मुहानबाट पानी तानेर अहिले १८२ घरमा सिधै धारा जडान गरी वितरण सुरु गरिएको छ।
यो आयोजना आर्थिक वर्ष २०७६/७७ मा सुरु भई ७ वर्षपछि सम्पन्न भएको हो। आयोजनाका अध्यक्ष रामप्रसाद सुवेदीका अनुसार बजेट अभावका कारण आयोजना ढिलो भएको भए पनि हाल सबै टोलमा पानी पुगिसकेको छ।
कसरी काम गर्छ लिफ्ट प्रविधि?
पुलाचौरको जोत्रे र पधेरा मुहानको पानीलाई ७५ हजार लिटर क्षमताको टंकीमा सङ्कलन गरिन्छ। त्यसपछि २० हर्सपावर क्षमताको सबमर्सिव पम्पमार्फत चुलेसीमा रहेको अर्को टंकीमा पानी पुर्याइन्छ। त्यहाँबाट थप ३ वटा रिजर्भ टंकीमार्फत वितरण गरिन्छ।
तीन इञ्चे पाइपमार्फत ८ सय मिटर लामो दूरीमा पानी पुर्याउने व्यवस्था गरिएको हो।
घरमै धारा भएपछि…
सचिव सागर पौडेलका अनुसार विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयसहित सबै घरमा मिटरसहितको निजी धारा जडान गरिएको छ। पहिले सार्वजनिक धाराबाट पालो कुर्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
स्थानीय मिनाकुमारी विक भन्छिन्, “पहिले पालो पर्खनुपर्थ्यो, झगडा पनि पर्थ्यो। अब घरमै पानी आयो, समय बचत भयो।”
दुई करोडभन्दा बढी लागत
खानेपानी डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर झलकमोहन ओझाका अनुसार आयोजना निर्माणमा रु २ करोड १० लाख ४८ हजार ३४८ खर्च भएको छ। उपभोक्ताले लागतको १०% श्रमदान गरेका छन्।
मोबाइलबाट खोल्न सकिने पम्प सिस्टम
पानी तान्ने विद्युत उपकरणलाई मोबाइलबाट नियन्त्रण गर्न मिल्ने अपरेटिङ सिस्टम जडान गरिएको छ। यसले उपभोक्ताले घरमै बसेर पम्प सञ्चालन गर्न सक्छन्।
हेरालुको आवास, उपभोक्ता कार्यालय र उपकरण भण्डारणका लागि भवन पनि निर्माण गरिएको छ।
बलबहादुर परियारले बताएअनुसार, हरेक घरले औसत २० दिनको श्रमदान गरेका छन्।
अब पुलाचौरका बासिन्दाले पानीका लागि पालो कुर्नु पर्ने छैन। सरसफाइमा सुधार भएको छ भने बालबालिका समयमै विद्यालय जान पाउँछन्। खानेपानीले पुलाचौरको दैनिक जीवनशैली नै बदलिदिएको स्थानीयको अनुभव छ।