
चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा वीरगञ्ज भन्सार कार्यालयले सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थ आयातबाट सङ्कलन गरेको छ। कार्यालयले ५ प्रकारका पेट्रोलियम पदार्थ आयात गरी ७३ अर्ब १८ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको जानकारी दिएको छ।
भन्सार कार्यालयका अनुसार सो अवधिमा पेट्रोलियम पदार्थ आयातका लागि १ खर्ब ७४ अर्ब ९ करोड रुपैयाँ खर्च गरिएको छ। कुल आयात राजस्वमा ४६.४३ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थबाट आएको हो।
भन्सार प्रमुख दीपक लामिछानेले वीरगञ्ज भन्सारको प्रमुख राजस्व स्रोत नै पेट्रोलियम पदार्थ र सवारीसाधन भएको बताए। दोस्रो स्थानमा रहेको राजस्व स्रोत भने सवारीसाधन र तिनका पार्टपुर्जाको आयातबाट १७ अर्ब ७० करोड रुपैयाँ रहेको छ, जसको हिस्सा ११.२३ प्रतिशत छ।
त्यस्तै, फलाम तथा फलामबाट बनेका सामग्रीबाट ५ अर्ब ७८ करोड, मेसिनरी तथा पार्टपुर्जा आयातबाट ५ अर्ब २६ करोड, र इलेक्ट्रिक मेसिनरी, उपकरण तथा पार्टपुर्जाबाट ३ अर्ब ६७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको हो।
कपडा आयातबाट ३ अर्ब ६ करोड, सुर्तीजन्य पदार्थबाट २ अर्ब ५८ करोड, शृङ्गारका सामग्रीबाट २ अर्ब ५२ करोड, प्लास्टिकका कच्चा पदार्थबाट २ अर्ब ३२ करोड, र लुब्रिकेटिङ्ग आयलबाट २ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरिएको प्रमुख लामिछानेले जानकारी दिए।