
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेतृत्वमा फेरबदल गर्दै कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनीष झालाई प्रवक्ता बनाएको छ। शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो।
यसअघि कार्यवाहक महामन्त्री रहेका बुर्लाकोटीलाई स्थायी महामन्त्रीको जिम्मेवारी दिइएको छ भने, कार्यवाहक प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका मनीष झालाई अब पूर्णकालीन प्रवक्ताको जिम्मेवारी दिइएको प्रवक्ता झाले जानकारी दिए।
यस निर्णयको पृष्ठभूमिमा शुक्रबार निर्वाचन आयोगले रास्वपाको अभिलेखमा डा. मुकुल ढकाल अझै पनि महामन्त्रीको रूपमा देखिएको विवरण सार्वजनिक गरेको थियो। पार्टीबाट कारबाहीमा परेका ढकालले निर्वाचन आयोगसँग आफ्नो नाम अभिलेखमा अद्यावधिक भएको वा नभएको स्पष्ट पार्न सूचना माग गरेका थिए।
निर्वाचन आयोगको जवाफ अनुसार, “२०८० सालको चैत २० गतेसम्मको विवरण अद्यावधिक भएको देखिए पनि त्यसपछि कुनै अद्यावधिक अभिलेख उपलब्ध छैन।”
यसैपछिको केन्द्रीय बैठकले बुर्लाकोटी र झालाई नेतृत्वको जिम्मेवारी तोकेको हो।
रास्वपा आज तेस्रो वर्षमा प्रवेश गरेको छ। यो पार्टी रवि लामिछानेको नेतृत्वमा २०७९ साल असार ७ गते घोषणा गरिएको थियो भने असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको थियो। हाल रवि लामिछाने रुपन्देही जिल्ला कारागारमा पूर्वपक्षका लागि थुनामा छन्। उनीमाथि सहकारीको बचत रकम ठगी गरेको अभियोग छ।