
संघीय संसदको प्रतिनिधिसभा बैठकमा आज एउटा अनौठो दृश्य देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सभामुखको आसनअगाडि जुत्ता-चप्पल खोलेर विरोध जनाएपछि सत्तारूढ दल नेकपा एमालेका सांसद दामोदर बैरागीले त्यसप्रति कडा आपत्ति जनाएका छन्।
बैठकमा बोल्दै सांसद बैरागीले भने, “सभामुखको ड्यासतर्फ चप्पल र जुत्ता खोलेर ध्यान गरेजस्तो गरेर विरोध प्रदर्शन गर्नु संसदीय मर्यादाविपरीत हो।”
उनले रास्वपाको उक्त शैलीले संसदीय गरिमा र आचारसंहिता उल्लंघन गरेको दाबी गर्दै सभामुखको ध्यानाकर्षण गराए। बैरागीले संसदीय मर्यादा कायम राख्न सबै सांसद जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए।
संसद भवनमा भइरहेको राजनीतिक विवाद र अभिव्यक्तिको शैलीप्रति विभिन्न कोणबाट प्रतिक्रिया आइरहेका छन्। रास्वपाका सांसदहरू भने आफ्नै ढंगले सरकारप्रति असन्तुष्टि जनाउँदै आएका छन्, तर विरोधको शैलीकै कारण अहिले उनीहरू विवादमा तानिएका छन्।