Join our Channel

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापना हुँदै, प्रदेश सरकारबाट ३ करोड बजेट विनियोजन

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापना हुँदै, प्रदेश सरकारबाट ३ करोड बजेट विनियोजन

कोशी प्रदेश सरकारले खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०८२/८३ का लागि कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन्।

खोटाङमा पाइने चिराइतो, पाखनभेद, सतुवा, दतिवन, बेल, बुढोओखतीजस्ता २५० भन्दा बढी जडीबुटी प्रजातिहरूको वैज्ञानिक रुपमा सदुपयोग गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले उक्त केन्द्र स्थापना गरिने बताइएको छ।

भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईका अनुसार निजी क्षेत्रसँगको साझेदारीमा स्थापना हुने यो केन्द्रले खोटाङ जिल्लाको आर्थिक गतिविधिमा ठुलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

जिल्लामा अहिलेसम्म जडीबुटी प्रशोधन केन्द्र नहुँदा स्थानीय किसान र व्यवसायीहरूले महँगो शुल्क तिरेर कच्चा जडीबुटी अन्यत्र पठाउँदै आएका थिए। अब भने जिल्लामै केन्द्र स्थापना भएपछि प्रशोधन कार्य सजिलो र लागतमैत्री हुने आशा गरिएको छ।

जिल्ला वन उपभोक्ता महासङ्घ खोटाङका अध्यक्ष मोहन गुरुङ भन्छन्, “२५० प्रजाति भन्दा बढी जडीबुटी भएका खोटाङमा प्रशोधन केन्द्रको अभावमा धेरै जडीबुटी खेर गइरहेका छन्। वैज्ञानिक अनुसन्धानको आधारमा केन्द्र स्थापना गर्न सके यो आर्थिक उपार्जनको ठूलो स्रोत बन्न सक्छ।”

खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका छन्। यस्ता स्थानीय तहमा केही कृषकले व्यक्तिगत लगानीमै व्यावसायिक जडीबुटी खेती थालेका छन्।

कोशी प्रदेश सरकारले २०८२/८३ सालका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको कुल बजेट ल्याएको छ। तर कुन जिल्ला र योजना अन्तर्गत कति रकम छुट्याइएको छ भन्ने विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।

खोटाङकै भूपेन्द्र राई (स्वास्थ्य मन्त्री) र सामाजिक विकास मन्त्री पाँचकर्ण राई ‘पिके’ सरकारमा रहेका कारण खोटाङमा यसपालि ठूला योजना समेटिएको विश्वास गरिएको छ।

Leave a comment