Join our Channel

भरतपुर महानगरको नयाँ बजेट सार्वजनिक : ५ अर्ब १९ करोड, हरित छतदेखि क्रिकेट रंगशाला निर्माणसम्म

भरतपुर महानगरको नयाँ बजेट सार्वजनिक : ५ अर्ब १९ करोड, हरित छतदेखि क्रिकेट रंगशाला निर्माणसम्म

भरतपुर महानगरपालिकाको १७औं नगरसभा आइतबारबाट सुरु भएको छ। नगरसभामा मेयर रेनु दाहालले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उपमेयर चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित ५ अर्ब १९ करोड ७१ लाख रुपैयाँको बजेट प्रस्ताव गरेका छन्।

पेस गरिएको बजेट अघिल्लो वर्षको ६ अर्ब ५५ करोड ८५ लाख रुपैयाँभन्दा कम रहेको छ। चालु आर्थिक वर्षमा १ अर्ब ८० करोड आन्तरिक आम्दानीको लक्ष्य राखिए पनि हालसम्म १ अर्ब १५ करोड रुपैयाँ मात्रै संकलन भएको र असार मसान्तसम्म १ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको उपमेयर अधिकारीले बताए।

बजेटका प्रमुख बुँदाहरू:

  • गौतमबुद्ध क्रिकेट रंगशालाका लागि: ४ करोड रुपैयाँ
  • पूर्वाधार वृत्तचित्र निर्माण: ३० लाख रुपैयाँ
  • वडास्तरीय आयोजना: न्यूनतम ३.२१ करोडदेखि अधिकतम ३.४० करोडसम्म — कुल बजेट: ९४.७८ करोड रुपैयाँ
  • शहरी पूर्वाधार: १४ करोड रुपैयाँ
  • शिक्षा क्षेत्र: १०.५० करोड रुपैयाँ
  • कृषि क्षेत्र: ९ करोड रुपैयाँ
  • स्वास्थ्य सेवा: ३ करोड रुपैयाँ
  • सडक मर्मत: ४ करोड रुपैयाँ विनियोजन

हरित नीति र वातावरणमैत्री योजना:

मेयर दाहालले प्रस्तुत गरेको १६१ बुँदे नीति तथा कार्यक्रममा “हरित छत” अभियानलाई अघि बढाउने योजना छ। सार्वजनिक र निजी भवनमा जस्तापाताको प्रयोग कम गर्दै हरियाली छत प्रोत्साहन गरिनेछ। साथै, निजी जग्गामा सशुल्क पार्किङ सञ्चालन गर्न निजी क्षेत्रलाई अनुमति दिने नीति पनि समावेश छ।

ल्यान्डफिल साइट र फोहोर व्यवस्थापन:

नगरले फोहोर व्यवस्थापनका लागि सार्वजनिक-निजी साझेदारी (PPP) मोडेलमा आधुनिक ल्यान्डफिल साइट निर्माण गर्ने योजना अघि सारेको छ। विगतमा नारायणी नदी किनार र अहिले बरण्डभार जंगलमा फोहोर पुर्ने काम भइरहेको छ, तर व्यवस्थित साइट निर्माण अहिलेसम्म हुन सकेको छैन।

Leave a comment