
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आगामी २०८४ सालको आम निर्वाचनमा स्पष्ट बहुमत ल्याएर सरकार बनाउने दाबी गरेका छन्।
पार्टीको स्थापना दिवसको अवसरमा रास्वपा भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कार्यकर्ताहरूलाई अबको लक्ष्य ८४ को चुनाव भन्दै तयारीमा लाग्न निर्देशन दिए।
उनले भने, “अब हामीलाई ठूलो सपना देख्नु छ – ८४ मा बहुमत ल्याउने र सरकार बनाउने। त्यही सपना साकार पार्न अबदेखि नै जुट्नुपर्छ।”
वाग्लेले पार्टीमा नयाँ सदस्यहरूको प्रवेशलाई सकारात्मक रूपमा लिन आग्रह गरे। उनले पार्टीभित्रको जिम्मेवारी कसैको व्यक्तिगत सम्पत्ति नभएको भन्दै ‘मेरो पद म भन्दा योग्य मान्छे आएमा उसलाई दिन तयार छु’ भन्दै खुलेर अभिव्यक्ति दिए। “नयाँ मान्छे आउँदा आफ्नो पद गुम्ला भन्ने डर राख्न जरुरी छैन,” उनले भने।
कार्यक्रममा उनले संसदमा रास्वपाको भूमिका अझ सशक्त र जनताको पक्षमा रहेको भन्दै संघर्षलाई निरन्तरता दिने बताए। संसदको बैठकमा उपस्थित भएर आफ्नो मन्तव्य दिएपछि उनले संसदबाहिर समेत आफ्नो संघर्ष जारी रहने स्पष्ट पारे।
यसैबीच, रास्वपाका कार्यकर्ताहरूले पनि चुनावी तयारीलाई तीव्र बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।