
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको विषयमा पुनः चासो बढेको छ। पछिल्लो समय दुवै देशका कूटनीतिक तहमा सक्रिय छलफल भैरहेको जनाइएको छ। असारको अन्तिम सातामा प्रधानमन्त्री ओलीको भारत भ्रमण हुने सम्भावना देखिएको छ।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, “असारको तेस्रो साता पछि भ्रमण हुने सम्भावनासहित छलफल भइरहेका छन्।” यद्यपि, विगतमा पटक–पटक तयारी हुँदा पनि भ्रमण स्थगित भएकाले मन्त्रालयले अहिले आधिकारिक धारणा दिन चासो देखाएको छैन।
यसअघि, बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनको अवसरमा बैंककमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ओलीबीच भेट भएको थियो। सोही भेटमा मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए। ओलीले पनि स्वदेश फर्केपछि भारत जान सकिने बताएका थिए। तर त्यसयता भारत भ्रमणको कुरा थातीमा परेको थियो।
प्रधानमन्त्री ओलीले चीनको औपचारिक भ्रमण गरेपछि भारत भ्रमणको चर्चा झनै चर्किएको थियो। तर, दिल्लीले चासो नदेखाउँदा भ्रमण अघि नबढेको परराष्ट्र स्रोतले बताएको छ।
सरकार गठन भएको एक वर्ष पूरा हुँदै गर्दा भारत भ्रमणको प्रयास पुनः शुरू हुनु नेपालको कूटनीतिक सन्तुलनका लागि महत्वपूर्ण मानिएको छ। ओलीको भ्रमण सफल भएमा भारत–नेपाल सम्बन्धमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।