
भदौ २४ गते संसद् भवन परिसरमा भएको प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंक (NBL) मा भएको ठूलो क्षतिको पुष्टि भएको छ। बैंकका सूचना अधिकारी पवन रेग्मीका अनुसार शाखामा रहेको ५ करोड १५ लाख रुपैयाँ र ऋण धितोमा रहेको १७ हजार ९ सय ४५ ग्राम (करिब १८ किलो) सुन चोरी भएको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सुशान्त प्रधानसँगको पोडकाष्टमा यस घटनाबारे प्रष्ट पार्दै, वित्तीय क्षेत्रमा ठूलो क्षति नभए पनि राष्ट्रिय वाणिज्य बैंकमा भएको उक्त लुटपाट पुष्टि गरेका छन्।
ग्राहकको लकर सुरक्षित, धितोको सुन मात्र लुटियो
रेग्मीका अनुसार, ग्राहकको व्यक्तिगत लकरमा रहेको सुन भने पूर्ण रूपमा सुरक्षित छ। तर, ऋण धितोमा राखिएको सुन मात्र लुटिएको र सो सुनको बिमा गरिएको बैंकले जनाएको छ।
देशभरका बैंक तथा एटीएममा तोडफोड
गभर्नर पौडेलका अनुसार, भदौ २४ को आन्दोलनका क्रममा मुलुकभरका बैंक तथा वित्तीय संस्थामा ६८ वटा शाखा र एक्सटेन्सन काउन्टर, साथै ६९ वटा एटीएममा तोडफोड वा आगजनी भएको छ।
- २५ शाखा कार्यालय
- ४३ एक्सटेन्सन काउन्टर
- ६९ एटीएम
यी मध्ये कतिपय शाखामा सामान्य क्षति (झ्याल फुट्ने, सामान बिग्रने) मात्र भए पनि कतिपयमा आगजनीसमेत भएको जनाइएको छ।
क्षतिको विस्तृत तथ्यांक संकलन जारी
राष्ट्र बैंकले सम्पूर्ण घटनाको तथ्यांक संकलन कार्य सुरु गरेको छ। गभर्नर पौडेलका अनुसार, सम्पूर्ण वित्तीय प्रणालीलाई सामान्य बनाउन बैंक तथा वित्तीय संस्थाहरूले तत्काल पुनः सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्।