
राजधानीको ठमेल क्षेत्रमा भारतीय पर्यटकहरूलाई लुटपाट गरेको आरोपमा संलग्न तीन जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी कार्यालय काठमाडौंले सोमबार उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्धका २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरणकुमार मोक्तान र टोखा नगरपालिका–१० श्रृजना टोलका २८ वर्षीय निलकुमार तामाङ छन् ।
प्रहरीका अनुसार उनीहरूले ठमेल क्षेत्रमा भारतीय पर्यटकहरूलाई होटल खोजिदिन्छु भन्दै गोंगबु बसपार्क नजिक रहेको ध्रुवतारा कम्प्लेक्सको छैटौं तल्लामा पुर्याएर कुटपिट गरी लुटपाट गरेका थिए ।
उक्त घटनापछि फरार रहेका तीनैजनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले नयाँबजार क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । प्रहरीले लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि जारी रहेको जनाएको छ ।