Join our Channel

३९ करोडको बजेट सार्वजनिक, साकेला गाउँपालिकाको नवजात शिशु बचत योजना सुरु

३९ करोडको बजेट सार्वजनिक, साकेला गाउँपालिकाको नवजात शिशु बचत योजना सुरु

खोटाङको साकेला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३९ करोड ३० लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न १५औं गाउँसभा मार्फत अध्यक्ष रविप्रकाश राईले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।

पालिकाका अनुसार कुल बजेटमध्ये २७ करोड ४७ लाख चालुतर्फ११ करोड ८३ लाख पुँजीगततर्फ खर्च गर्ने प्रस्ताव गरिएको छ। गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले बजेटसँगै नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्, जुन बहुमतले पारित गरिएको हो।

आय स्रोतहरू

साकेलाले विभिन्न तहका सरकार तथा कार्यालयहरूबाट प्राप्त हुने अनुदान र राजस्वको प्रक्षेपण यस प्रकार गरेको छ:

  • संघीय सरकारबाट:
    • वित्तीय समानीकरण अनुदान: ६ करोड ८९ लाख
    • राजस्व बाँडफाँट: ६ करोड ३२ लाख ५६ हजार
    • सशर्त अनुदान: १४ करोड ४ लाख
    • पूँजीगत सशर्त अनुदान: १ करोड ३८ लाख
    • समपूरक अनुदान: २ करोड २२ लाख
    • विशेष अनुदान (चालु): १ करोड ५४ लाख
  • प्रदेश सरकारबाट:
    • वित्तीय समानीकरण अनुदान: ५८ लाख ९ हजार
    • सवारी कर बाँडफाँट: ४९ लाख ९० हजार
    • प्रदेश सशर्त अनुदान: ७५ लाख ६५ हजार
    • पूँजीगत अनुदान: १ करोड ७२ लाख ५९ हजार
    • पूँजीगत समपूरक अनुदान: १ करोड ६० लाख
  • अन्य स्रोतहरू:
    • जिल्ला समन्वय समिति: १८ लाख
    • घरजग्गा रजिस्ट्रेसन शुल्क: १ लाख ५० हजार
    • विज्ञापन कर: १० हजार
    • गाउँपालिकाको आन्तरिक राजस्व: ३० लाख
    • अघिल्लो वर्षको बैंक मौज्दात: १ करोड २५ लाख

नवजात शिशु बचत योजना सुरु

गाउँपालिकाले आगामी साउनदेखि लागू हुने गरी “नवजात शिशु बचत योजना” सुरु गर्ने घोषणा गरेको छ। योजना अनुसार पालिकाभित्र जन्मिने प्रत्येक शिशुको नाममा नेपाल एसबीआई बैंकको सहकार्यमा बचत खाता खोलिने छ। पहिलो वर्षमा १० देखि १५ हजार रुपैयाँसम्म जम्मा गरिने र हरेक वर्ष बढाउँदै लैजाने योजना छ।

शर्तहरू यस्ता छन्:

  • स्वास्थ्य संस्थामा बच्चा जन्मनु पर्ने
  • समयमा जन्मदर्ता गराउनु पर्ने
  • १८ वर्षसम्म पालिकाले खातामा रकम थप गर्दै जाने
  • कक्षा १२ सम्म गाउँकै सामुदायिक विद्यालयमा निरन्तर अध्ययन गर्नुपर्ने
  • बसाइँसराइ नगरिएको हुनुपर्ने

यो योजनाबाट बालबालिकाको शिक्षा, पालनपोषण र भविष्य सुरक्षित गर्ने विश्वास पालिकाले लिएको छ। साथै, यसले व्यक्तिगत ऋणको भार कम गरी समुन्नत जीवनको आधार तयार पार्ने लक्ष्य राखेको छ।

Leave a comment