
बहुचर्चित सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा २ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी ठगी तथा संगठित अपराध मुद्दा दायर गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक र रास्वपाका सभापति समेत रहेका लामिछानेमाथि ११ करोड ५६ लाखभन्दा बढी बिगो माग गर्दै शुक्रबार पूरक अभियोगपत्र दर्ता गरेको हो।
६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय माग
सहकारी ऐन २०७४ अनुसार लामिछानेमाथि ६ देखि ८ वर्षसम्मको कैद सजाय र ५० प्रतिशत अतिरिक्त सजायसहित जरिवाना माग गरिएको छ। उनी हाल प्रहरी हिरासतमा छन्।
१० करोडभन्दा बढी रकम मिडिया र हर्ब्स कम्पनीमा ट्रान्सफर
प्रहरी अनुसन्धान अनुसार सानो पाइला सहकारीको रकम गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख र नेचर हर्ब्स इन्डस्ट्रिजमा ९५ लाख रुपैयाँ ट्रान्सफर गरिएको प्रमाण फेला परेको छ।
५ हजारभन्दा बढी पीडित बचतकर्ता
वीरगञ्ज–६ आदर्शनगरमा रहेको सहकारी संस्थाले ५ हजार ८ सय ७३ जना बचतकर्ताको २ अर्ब ३० करोड रुपैयाँ अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ।
यसरी बढ्दै गयो मुद्दाको दायरो
- साउन २१ गते ५२ जनाले ४ करोड ३४ लाखको अपचलनको उजुरी गरे।
- त्यसपछि भदौ २२ मा २०७ जनाले थप ४ करोड ५८ लाखको उजुरी गरे।
- फागुन २ मा १७९ जनाले २४ करोड ५८ लाख अपचलनको उजुरी दिए।
मुख्य अभियुक्त र फरारहरू
हालसम्म रवि लामिछाने, छविलाल जोशी, प्रमोद भट्टराई र रामबहादुर खनाल थुनामा छन्।
तर, १२ जना अभियुक्त फरार छन्, जसमा गीतेन्द्रबाबु राई, नेहा पौडेल, अनन्तबाबु राई, असरफ सिद्दिकी लगायत छन्।
गम्भीर संगठित अपराध आरोप
संसदीय छानबिन समितिको प्रतिवेदनपछि यो मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको अनुसन्धान सुरु भएको थियो। अभियुक्तहरूले सहकारीको बचत, जगेडा कोष, अन्य सहकारीको ITB ट्रान्जेक्सनबाट आएको रकमसमेत आफ्ना कम्पनीहरू र व्यक्तिका नाममा लगानी गरेको देखिएको छ।