Join our Channel

मोहन वैद्यको स्वास्थ्य अवस्था स्थिर, आईसीयूमा उपचार जारी

मोहन वैद्यको स्वास्थ्य अवस्था स्थिर, आईसीयूमा उपचार जारी

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य अवस्था हाल स्थिर रहेको पारिवारिक स्रोतले जनाएको छ। छातीमा समस्या देखिएपछि उनी जेठ १५ गते त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका थिए।

डाक्टरहरूको टोलीले उनको अहिले अस्पतालको आईसीयूमा उपचार गरिरहेको छ। दम बढेपछि अस्पताल पुर्‍याइएका वैद्यलाई निमोनिया भएको पुष्टि भएको छ। “मुख्य रूपमा निमोनियाको उपचार भइरहेको छ,” परिवारका एक सदस्यले जानकारी दिएका छन्। उनका अनुसार केही समय अझै आईसीयूमै राखेर उपचार गर्न चिकित्सकले सिफारिस गरेका छन्।

उपचारमा डा. निरज बम नेतृत्वको चिकित्सक टोली संलग्न रहेको छ भने आवश्यक खर्च परिवार र पार्टीले संयुक्त रूपमा व्यवस्थापन गरिरहेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत वैद्यप्रति स्वास्थ्य लाभको कामना गरेका छन्।

वैद्य माओवादी आन्दोलनको एक प्रमुख नेता मानिन्छन्। माओवादी पार्टीबाट २०६९ सालको जेठमा अलग भएर उनले नयाँ क्रान्तिकारी माओवादी पार्टीको गठन गरेका थिए। ‘जनविद्रोह’को नीति लिएर अघि बढेका वैद्य गत मंसिरमा सम्पन्न महाधिवेशनबाट महासचिवमा सर्वसम्मत रूपमा चयन भएका थिए।

उनी अस्वस्थ भएपछि पार्टीको जिम्मेवारी कार्यवाहक महासचिव सीपी गजुरेलले सम्हालिरहेका छन्।

Leave a comment