Join our Channel

सप्तकोसीमा खतरा : पानीको बहाब वर्षकै उच्च, ५० ढोका खोलियो

सप्तकोसीमा खतरा : पानीको बहाब वर्षकै उच्च, ५० ढोका खोलियो

लगातारको अविरल वर्षाले सप्तकोसी नदीको जलस्तर खतराको तह पार गर्दै वर्षकै उच्च मापनमा पुगेको छ। पहाडी क्षेत्रमा परेको मुसलधारे वर्षाको असरले सप्तकोसीमा पानीको सतह तीव्र गतिमा बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबाका अनुसार शनिबार बिहानसम्म सप्तकोसीमा प्रतिसेकेन्ड ३ लाख ३० हजार ३६० क्युसेक पानीको बहाब मापन गरिएको छ, जुन यो वर्षको सबैभन्दा उच्च रेकर्ड हो। पानीको मात्रा बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ५० ढोका खोलिएका छन्।

ब्यारेज क्षेत्रमा उच्च सतर्कता अपनाउँदै रातो बत्ती बालिएको छ। सामान्य अवस्थामा सप्तकोसीमा प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेकभन्दा बढी पानी खतराको तह मानिने भएकाले अहिलेको अवस्था अत्यन्त संवेदनशील रहेको अधिकारीहरूले बताएका छन्।

संभावित जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए। उनले भने, “सप्तकोसी आसपासका बस्तीहरूलाई सतर्क रहन निर्देशन दिइएको छ।”

स्थानीय प्रशासनले कोशी ब्यारेजदेखि चतरा, पश्चिम कुशाहा र दक्षिणी तटबन्ध क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षा निरन्तर भइरहेकाले सप्तकोसीको जलस्तर अझ बढ्ने सम्भावना रहेको छ। प्रशासनले आकस्मिक परिस्थितिको सामना गर्न उद्धार टोली र राहत सामग्री तयारी अवस्थामा राखेको जनाएको छ।

Leave a comment