
भारतीय फिल्म इतिहासमा एक अविस्मरणीय स्थान बनाएको बलिउडको कालजयी चलचित्र ‘शोले’ फेरि एक पटक ठूलो पर्दामा फर्किएको छ। निर्देशक रमेश सिप्पीद्वारा सन् १९७५ मा निर्माण गरिएको यो फिल्म ५० वर्षपछि इटालीको बोलोनियामा आयोजना भएको इल सिनेमा रित्रोभाटो फेस्टिभलमा विश्व प्रिमियर भएको हो।
यो संस्करणमा दर्शकहरूले पहिले कहिल्यै नदेखेका सेन्सरले हटाएका दृश्यहरू, मूल अन्त्य, र नयाँ सम्पादनका झलकहरू पाएका छन्। शोलेको मूल संस्करणमा ठाकुरले गब्बरलाई काँटेदार जुत्ताले मार्ने दृश्य रहेको थियो, जुन सेन्सरले हटाएको थियो। त्यतिबेला भारतमा ‘आपतकाल’ लागु भएकाले फिल्मले कडा सेन्सर सामना गर्नुपरेको थियो।
अमिताभ बच्चन, धर्मेन्द्र, हेमा मालिनी, जय भादुरी, सञ्जीव कुमार र अमजद खानको दमदार अभिनयले सजिएको यो फिल्मका संवादहरू अझै पनि दर्शकहरूका मनमा गढिएका छन्। आरडी बर्मनको संगीत र गब्बर सिंहको भयानक पात्रले फिल्मलाई कालजयी बनाएको थियो।
२०२२ मा निर्देशक रमेश सिप्पीका छोरा शहजाद सिप्पीले फिल्म हेरिटेज फाउन्डेसनसँग सहकार्य गर्दै फिल्मलाई पुनःस्थापना गर्न थालेका थिए। हराइसकेको ७० एमएम प्रिन्ट र क्षतिग्रस्त नेगेटिभहरूलाई ब्रिटेनको ब्रिटिश फिल्म इन्स्टिच्युट र भारतको एक गोदामबाट संकलन गरेर अत्याधुनिक प्रविधिबाट पुनर्स्थापित गरिएको हो।
सुरुमा आलोचित भए पनि, शोलेले दर्शकहरूबीच छिट्टै लोकप्रियता कमाएको थियो। आज पनि यो फिल्मले नयाँ पुस्तालाई सिनेमा इतिहासबारे बुझ्न अभूतपूर्व अवसर दिएको छ।