
भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेसनलमा सोमबार मध्यरात गोली चल्ने घटना भएको छ।
घटनामा सुरक्षागार्ड मीनबहादुर परियार घाइते भएका छन्।
विवादपछि गोली
प्रहरीका अनुसार, होटलको मुख्य गेट अगाडि केही व्यक्तिहरूबीच विवाद भएको थियो। त्यसपछि एउटा समूह होटलभित्र प्रवेश गर्न खोज्दा, सुरक्षागार्डले रोक्न खोजेपछि अपरिचित व्यक्तिले गोली प्रहार गरेका हुन्।
घटनामा बुटवल उपमहानगरपालिका–१५ का २७ वर्षीय मीनबहादुर परियारको तिघ्रामा गोली लागेको रुपन्देहीका प्रहरी प्रवक्ता तथा डीएसपी सुरज कार्कीले जानकारी दिएका छन्।
उपचारपछि डिस्चार्ज
घाइते परियारलाई राति नै भीम अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि उनको अवस्था सामान्य रहेको र डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धान जारी
प्रहरीका अनुसार, घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको छ।
उक्त होटल परिसरमा क्यासिनो पनि सञ्चालनमा रहेको र त्यहाँ दैनिक रूपमा धेरैजसो भारतीय नागरिक आउने–जाने गर्ने गरिएको जानकारी छ।