Join our Channel

सिद्धार्थ राजमार्गमा पहिरो : पाल्पा–बुटवल सडक अवरुद्ध, यात्रु अलपत्र

सिद्धार्थ राजमार्गमा पहिरो : पाल्पा–बुटवल सडक अवरुद्ध, यात्रु अलपत्र

अविरल वर्षा र लगातारको पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित दोभान सिद्धबाबा मन्दिर नजिकै बुधबार बिहान २ बजे ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको हो ।

स्थानीय विष्णुप्रसाद पाण्डेका अनुसार दोभान हेडबक्स नजिक पहिरो खसेपछि सडक खुलाउन कठिन भएको छ । अविरल वर्षा भइरहेकाले पहिरो पन्छाउने प्रयासमा कठिनाइ भएको उनले बताए ।

सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाबाट तराईतर्फ आवतजावत गर्ने सवारीसाधनहरु बाटोमै रोकिएका छन् । उत्तर–दक्षिण राजमार्गका सबै सवारीसाधन ठप्प छन् ।

यसअघि पनि यही क्षेत्रमा पटक–पटक पहिरो जाँदा सडक बन्द हुँदै आएको छ । मंगलबार मात्रै यही क्षेत्रमा पहिरोले मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु र एक जना घाइते भएका थिए ।

सुरक्षा निकाय र स्थानीय बासिन्दाले पहिरो पन्छाउने प्रयास गरिरहे पनि वर्षा नरोकिँदासम्म सडक खुल्ने सम्भावना न्यून देखिएको छ ।

Leave a comment