
तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वराबाट सोमबार एकैदिन चार सय ६८ किलो सयपत्री फूल (Marigold) बिक्री भएको छ।
चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले पहिलो वर्षमै यस्तो ठूलो बिक्री गरेको कृषि सचिव महेन्द्रराज रानाले जानकारी दिए।
उनका अनुसार, दुई ठाउँमा गरी छ रोपनी क्षेत्रफलमा फूल लगाइएको थियो। एक ठाउँबाट १६८ किलो र अर्को ठाउँबाट ३०० किलो फूल बिक्री भएको उनले बताए। बिक्री मूल्य प्रति किलो रु ३०० राखिएको थियो र पोखराका व्यापारीलाई फूल बिक्री गरिएको थियो।
पहिलो वर्ष फूलखेती गरेका किसान बजार पाउँदा अत्यन्तै खुसी छन्। राना भन्छन्, “पहिलो वर्षमै उत्पादन सबै बिक्री हुँदा हामी निकै उत्साहित छौँ। बजार नपाउँछौं कि भन्ने चिन्ता हट्यो।”
समूह अध्यक्ष जितमाया रानाका अनुसार, फूल लगाउन सुरु गर्दा बजार नपाएर श्रम खेर जाने हो कि भन्ने डर थियो। तर पहिलो वर्षमै बजार सुनिश्चित भएपछि किसानहरूमा हौँसला आएको छ। आगामी वर्ष क्षेत्रफल थप वृद्धि गर्ने योजना पनि तयार गरिएको उनले बताए।
उनीहरूले छ रोपनी जग्गा भाडामा लिएर छ हजारभन्दा बढी बेर्ना रोपिएको जानकारी दिए। यसअघि किसानहरूले काक्रा, घिरौला, बोडी, मास, करेला, खुर्सानी खेती गरिरहेका थिए भने यस वर्ष सयपत्री फूलखेतीमा सफल भएका हुन्।
किसानहरूले अब फूल फुलेपछि कहाँ बेच्ने भन्ने चिन्ता नगरी बजारको सुनिश्चितता पाएपछि खुशीले मन फुलेको अनुभव साझा गरेका छन्।