
देशभर उखु किसानले गत वर्षको अनुदान रकम अझै नपाएका छन्। खेतमा नयाँ उखुको बाली उब्जिए पनि पुरानो बालीको रकम अझै नआएपछि किसानहरू आक्रोशित भएका छन्।
केन्द्रीय उखु संघर्ष समितिका संयोजक श्यामबाबु रायका अनुसार किसानहरूले भदौमै काठमाडौंमा आन्दोलन गरेर अनुदान रकम माग गरेका थिए। तर सरकारले अहिलेसम्म सुनुवाइ गरेको छैन।
महोत्तरीका किसान नेता नरेशसिंह कुशवाहाले भने, “दसैं, तिहार र छठ सकिए, तर सरकारले अनुदान दिएन। चाडपर्व नजिकिँदा किसानको मन खल्लो भएको छ।”
गत वर्ष किसानहरूले कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारलाई भेटेर अनुदान रकम छिटो उपलब्ध गराउन आग्रह गरेका थिए। तर मन्त्रीले दिएको आश्वासन अहिले पनि कार्यान्वयन भएको छैन।
७५ करोडभन्दा बढी अनुदान अझै बक्यौता
संघर्ष समितिका अनुसार किसानहरूले आर्थिक वर्ष २०८१/८२ को ७५ करोड ५१ लाख रुपैयाँभन्दा बढी अनुदान रकम अझै पाउन बाँकी छ।
गत वर्ष देशभरका १३ चिनी उद्योगमा २ करोड १५ लाख क्विन्टलभन्दा बढी उखु बिक्री गरिएको थियो। सरकारले प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान दिने घोषणा गरे पनि त्यसको आधा मात्रै रकम निकासा गरिएको छ।
तत्कालीन केपी शर्मा ओली सरकारले बजेट अभावको कारण देखाउँदै प्रतिक्विन्टल ३५ रुपैयाँ मात्र दिने निर्णय गरेको थियो। यसरी ५० प्रतिशत अनुदान कटौती भएपछि किसानहरूले भदौमा राजधानीमा आन्दोलन गरेका थिए।
किसानको पीडा, सरकारको मौनता
उखु उत्पादक महासंघका केन्द्रीय सदस्य महाशंकर थिङले भने, “हामीले सरकारसँग दान मागेका होइनौं, हाम्रो पसिनाको मूल्य मागेका हौं। यो हाम्रो अधिकार हो।”
उनका अनुसार सरकारले २०६५ सालदेखि नै उखु खेतीमा अनुदान दिने नीति ल्याएको हो, तर अहिले किसानको मागप्रति बेवास्ता गरेको छ।
किसानहरूको भनाइ छ— सरकारले समयमै अनुदान नदिए उखु खेती घट्दै जाने र उत्पादनमा गिरावट आउने जोखिम बढेको छ।