
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा निवर्तमान सांसद सुमना श्रेष्ठले विद्यार्थी, शिक्षक, प्राध्यापक र कर्मचारी प्रशासनमा रहेका सबै दलीय भ्रातृ संगठनहरू खारेज गर्नुपर्ने माग गरेकी छन्।
एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरका मेयर बालेन शाह र ‘हामी नेपाल’ का अभियन्ता सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिएको घटनाप्रति टिप्पणी गर्दै उनले यस्ता संगठनहरूले विद्यार्थीको हकहित भन्दा दलका नेताको अन्धभक्ति र बचाउमा मात्र काम गरेको आरोप लगाइन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले भनेकी छन्:
“युनिफर्ममा भएको विद्यार्थीलाई गोली हान्यो- मतलब छैन विद्यार्थी संगठनलाई! तर- गोली चलाउन आदेश दिने दलको प्रमुखमाथि उजुरी पर्यो, तुरुन्त जाइलाग्यो! यसैले दलीय भ्रातृ संगठन- चाहे त्यो विद्यार्थीको होस् वा प्रशासनको वा प्राध्यापकको वा शिक्षकको- खारेज गर्नुपर्छ।”
सुमनाले यस्ता संगठनहरूले सम्मानित पेशाको गरिमा घटाएको र विद्यार्थीलाई केवल राजनीतिक स्वार्थमा प्रयोग गरेको उल्लेख गर्दै थपिन्:
“सम्मानित पेशालाई सम्मानित रहन देऊ! विद्यार्थीलाई विद्यार्थी रहन देऊ!”
यसअघि भदौमा भएको जेन–जी आन्दोलनमा भएको हिंसा र मानवीय क्षतिलाई लिएर पीडित परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएका थिए। त्यसको प्रतिवादमा अनेरास्ववियुले मेयर शाह र सुदन गुरुङविरुद्ध तोडफोड र आगजनीमा संलग्न भएको आरोप लगाउँदै प्रहरी परिसर पुगेको थियो।