Join our Channel

सुनसरीमा बैंक म्यानेजर भन्दै लाखौं ठगी, भारतबाट पक्राउ परे मेहता

सुनसरीमा बैंक म्यानेजर भन्दै लाखौं ठगी, भारतबाट पक्राउ परे मेहता

सुनसरी प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई भारतको भिमनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सुनसरीको देवानगन्ज गाउँपालिका-१ का कुशेश्वर मेहता हुन्, जो फेसबुकमा ‘सुवन’ नामको फेक आइडी बनाएर ठगी गर्दै आएका थिए।

सुनसरी प्रहरीले जनाएको छ कि मेहताले आफूलाई थाइल्याण्डको SIAM Commercial बैंकको म्यानेजर भनेर परिचय दिई, एलेन अर्बी शाही नामक व्यक्तिको खातामा रहेको ठूलो रकम आफनो नाममा राखिदिने भन्दै झुठो विश्वास दिलाएर कुर्मराज शाहीबाट कुल ६२ लाख ७५ हजार २ सय रुपैयाँ ठगी गरेका थिए।

शाहीले मेहताविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएका थिए। त्यसपछि प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाको नेतृत्वमा डीएसपी योगराज खतिवडाको टोलीले साइबर ब्युरोको सहयोगमा भारतको भिमनगरबाट मेहतालाई पक्राउ गर्यो।

पक्राउ परेका मेहतालाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन काठमाडौंस्थित नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटी पठाइएको छ।

यो प्रकरणले सामाजिक सञ्जालमा फेक परिचय बनाएर ठगी गर्ने अपराधको भयावहता पुनः उजागर गरेको छ। प्रहरीले जनतालाई सचेत रहन र अनजान व्यक्तिहरूबाट सतर्क रहन आग्रह गरेको छ।

Leave a comment