
नेपाली कांग्रेसमा अनुशासन कारबाहीको विषयले विवाद चुलिएको छ। केन्द्रीय अनुशासन समितिले विभिन्न नेताहरूमाथि गरेको कारबाहीप्रति वरिष्ठ नेता शेखर कोइराला समूहले कडा असन्तुष्टि जनाएको छ।
कोइराला पक्षले अनुशासन समितिले पार्टी विधानविपरीत र एकतर्फीरुपमा कारबाही गरेको आरोप लगाउँदै तत्काल कारबाही फिर्ता लिन माग गरेको छ। कारबाही फिर्ता नभए राजनीतिक प्रतिरोध गर्ने निर्णय समेत कोइराला समूहले गरेको छ।
कोइराला समूहको आपत्ति : कारबाही एकपक्षीय र अवैधानिक
गत साता सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकपछि अनुशासन समितिले कारबाहीको सूचना दिएको थियो। अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले बुधबार देशभरका विभिन्न जिल्लाका नेताहरूलाई कारबाही गरिएको विज्ञप्तिमार्फत जानकारी गराएका थिए।
तर, बिहीबार बिहानै शेखर कोइरालाले आफ्नो पक्षका नेताहरूसँग आकस्मिक बैठक राखेर कारबाहीमाथि कडा आपत्ति जनाए। बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुन नरसिंह केसी, बलबहादुर केसी, मिनेन्द्र रिजाल, अनुशासन समितिका सदस्य संजय गौतम लगायतको उपस्थिति थियो।
‘अनुशासन फाइल नचलाउने सहमति हुँदाहुँदै कारबाही’
कोइराला पक्षका नेताहरूले अनुशासन समितिको कारबाही पहिले नै नचलाउने सहमति भएको दाबी गरेका छन्। तर, अहिले एकतर्फी निर्णय भएको भन्दै ती नेताहरू आक्रोशित छन्।
एक नेताले भने, ‘विधानविपरीत, एकपक्षीय रूपमा कारबाही गरिएको छ। यस्तो कारबाही स्वीकार्य हुँदैन।’
यी नेताहरू कारबाहीमा परे
अनुशासन समितिले तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य कुमार खड्का, लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, खोटाङ सभापति विष्णुकुमार राई, पर्सा–१ का सभापति अरविन्दकुमार गुप्ता, कास्कीका निवर्तमान सभापति कृष्ण केसी लगायत नेताहरूलाई कारबाही गरेको छ।
उनीहरूको सदस्यता ३ महिनादेखि १ वर्षसम्म निलम्बन गर्ने निर्णय गरिएको छ।
यस विषयमा थप राजनीतिक तकरार बढ्ने संकेत देखिएको छ।