
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार, नियमित विधाबाट परीक्षा दिएका ४ लाख ३८ हजार ८९६ विद्यार्थीमध्ये २ लाख ७१ हजार २९९ जना अर्थात् ६१.८१ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना योग्य (उत्तीर्ण) भएका छन्।
परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० बाट शुक्रबार साँझ प्रकाशित नतिजाअनुसार, यस वर्षको नतिजा अघिल्लो वर्षको तुलनामा १३.९४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष ४७.८७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए।
GPA ४ ल्याउने विद्यार्थीको संख्या चारगुना बढ्यो
यस वर्ष देशभरबाट ९७१ जनाले GPA ४ ल्याएका छन्। जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो, किनकि गत वर्ष केवल १८६ जनाले मात्र GPA ४ प्राप्त गरेका थिए। काठमाडौं जिल्लाबाट मात्रै ४१० जनाले GPA ४ ल्याएका छन्, जुन अघिल्लो वर्षको ९४ जनाको तुलनामा झण्डै पाँचगुना हो।
प्रधानमन्त्रीको प्रतिक्रिया र शिक्षाविद्को चिन्ता
प्रधानमन्त्री केपी शर्मा ओलीले नतिजामा सुधार देखिएको भन्दै सामाजिक सञ्जालमा खुशी व्यक्त गर्दै भनेका छन्, “बितेको वर्षमा नतिजा सुधार गर्न गरिएको मिहिनेत सफल भयो।” तर शिक्षाविद् विद्यानाथ कोइरालाले भने नतिजा सुधारको आधार स्पष्ट नभएको भन्दै शंका व्यक्त गरेका छन्। उनका अनुसार, सिकाइ सुधार नभई कृपावश अंक दिइएको आशंका उठ्न सक्ने अवस्था छ।
सबैभन्दा धेरै ‘ननग्रेडेड’ गणित, विज्ञान र अंग्रेजीमा
गणितमा १ लाख २८ हजार २१५, अंग्रेजीमा ८० हजार ६७२, र विज्ञान तथा प्रविधिमा ७९ हजार २७१ विद्यार्थी ‘ननग्रेडेड’ (असफल) भएका छन्। सामुदायिक विद्यालयहरूमा अझै पनि स्थायी शिक्षक अभावको समस्या रहेको र विगत २० वर्षदेखि दरबन्दी नथपिएको बोर्डले जनाएको छ।
जीपीए विवरण यसप्रकार छ:
- GPA ३.६०–४.००: ४८,१७७ विद्यार्थी
- GPA ३.२०–३.५९: ८१,३८५ विद्यार्थी
- GPA २.८०–३.१९: ८९,१२४ विद्यार्थी
- GPA २.४०–२.७९: ४८,४७९ विद्यार्थी
- GPA २.००–२.३९: ४,१२६ विद्यार्थी
- GPA १.६०–१.९९: ८ विद्यार्थी
रद्द परीक्षा र पूरकको व्यवस्था
बोर्डका अनुसार १२६ जनाको परीक्षा रद्द गरिएको छ। नतिजा चित्त नबुझे पुनर्योग वा उत्तरपुस्तिका पुनः परीक्षणको लागि अनलाइन आवेदन दिन सकिनेछ। एसईई पूरक परीक्षा साउन २९ गतेदेखि हुने जानकारी बोर्डले दिएको छ।