
ताप्लेजुङको फुङलिङ नगरपालिका–४ मा गएराति भएको आगलागीले झोला बनाउने गोदाम पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट करीब ३६ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रहरीले जनाएको छ।
कञ्चनजङ्घा चोकस्थित महेन्द्र सार्कीको झोला बनाउने गोदाममा मंगलबार साँझ करिब ७ बजे विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार, गोदाममा रहेका ३ लाख रुपैयाँ बराबरका मेसिन, २० लाख रुपैयाँ बराबरका तयार झोला, र १३ लाख रुपैयाँ बराबरका कच्चा सामग्री जलेर नष्ट भएका हुन्।
सौभाग्यवश मानवीय क्षति भने भएको छैन। आगो नियन्त्रणका लागि प्रहरी, नेपाली सेना, चाडपर्व लक्षित संयुक्त गस्ती टोली, दमकल र स्थानीय बासिन्दाहरूले संयुक्त प्रयास गरेका थिए।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।