Join our Channel

ल्हेन्दे खोलामा मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने तयारी

ल्हेन्दे खोलामा मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने तयारी

नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलामा निर्माणाधीन मितेरी पुल पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ। चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भइरहेको बेलिब्रिज (Bailey Bridge) का लागि आवश्यक सबै पार्टपुर्जा जडान र पिलर ठड्याउने काम सम्पन्न भएको जनाइएको छ।

गत असार २४ गतेको बाढीले पुरानो मोटोरेबल पुल बगाएपछि, चीन सरकारले पुनःनिर्माणमा सहयोग गरेको हो।

स्थानीय प्रशासनका अनुसार, हाल वारिपारिको भाग जडान सकिएको र पुलको बीच भाग बलियो बनाउन अतिरिक्त पिलर उठाउने काम भइरहेको छ। पुल निर्माणमा संलग्न चिनियाँ प्राविधिक टोलीले पुललाई थप मजबुत बनाउन खोलाको माझमा नयाँ पिलर थप्न थालेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले पुल निर्माणको तीव्रता हेर्दा कात्तिक १५ गतेभित्र मितेरी पुल सञ्चालनमा आउन सक्ने सम्भावना रहेको बताए। उनले सीमाक्षेत्रका चिनियाँ अधिकारीहरूले औपचारिक रूपमा उद्घाटन मिति घोषणा नगरेको पनि जानकारी दिए।

स्थानीय व्यापारीहरू पुल पुनः सञ्चालनमा आउन लागेको खबरले नेपाल–चीन व्यापार पुनः सहज हुने अपेक्षा व्यक्त गरेका छन्। पुल सञ्चालन भएपछि मालसामान आयात निर्यात र भन्सार प्रक्रिया छिटो हुने भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताएका छन्।

Leave a comment