
थाइल्याण्डको वायुसेवा कम्पनी थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः व्यावसायिक उडान सुरु गरेको छ।
२०७८ सालमा सञ्चालनमा आएको यस विमानस्थलबाट कम्पनीले २०८१ कात्तिक १८ गते व्यावसायिक उडान थालेको थियो। तर, विभिन्न कारणले केही समयका लागि उडान स्थगित गरिएको थियो।
केही महिनाअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीले पेश गरेको ‘विन्टर सेड्युल’ स्वीकृत गरेपछि आइतबारदेखि पुनः उडान सेवा सुरु भएको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार थाई एयर एसियाले अबदेखि हप्तामा दुई दिन — आइतबार र बुधबार — बैंकक–भैरहवा–बैंकक सिधा उडान गर्नेछ।
आइतबार दिउँसो १२:१५ बजे १७ यात्रुसहित बैंककबाट आएको विमान भैरहवाबाट १६७ जना यात्रु लिएर १:१५ बजे बैंकक प्रस्थान गरेको उनले जानकारी दिए।
हाल नेपाल एयरलाइन्सले आफ्नो सेवा काठमाडौंमा मात्र सीमित गरेपछि सरकारले भैरहवा विमानस्थलको प्रयोग नबढाएको भन्दै आलोचना हुँदै आएको छ। यसअघि यस विमानस्थलबाट कतार एयरवेज, फ्लाई दुबई र जजिरा एयरवेजले पनि उडान भर्दै आएका थिए।
थाई एयर एसियाको पुनः सञ्चालनसँगै स्थानीय पर्यटन र व्यापारिक आवागमनमा उत्साह थपिने अपेक्षा गरिएको छ।