
जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई महाराजगञ्ज र कोटेश्वर क्षेत्रमा भएको प्रहरी हत्या घटनामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाहरूमाथि अहिले थप अनुसन्धान अघि बढाइएको छ।
यसअघि प्रहरी हत्याको आरोपमा पक्राउ परेका होमप्रसाद पौडेल, टिकाराम विक, बुद्धिलाल तामाङ र युवराज क्याप्छापीलाई अदालतको आदेशमा मुद्दा पुर्पक्षका लागि कारागार पठाइसकिएको प्रहरीले जनाएको छ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए। सोही क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापा, साथै कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको आन्दोलनकारी समूहको कुटपिटबाट मृत्यु भएको थियो।
प्रहरीले आन्दोलनका क्रममा हिंसात्मक गतिविधि र प्रहरी हत्या घटनामा संलग्नहरूविरुद्ध कानूनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।