
प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरी देशलाई सहज राजनीतिक निकास दिने लक्ष्यसहित सबै पक्ष जिम्मेवार र एकजुट रहन आग्रह गरेकी छन्।
शनिबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री, अन्य मन्त्रीहरू तथा चारै सुरक्षा निकायका प्रमुखहरूसँग भएको विशेष बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीका विषयमा विस्तृत छलफल गरेकी थिइन्।
बैठकपछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत लेखेकी छन् —
“फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको छ। तयारी अझ द्रुत गतिमा अघि बढाइँदै छ। सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौं।”
उनका अनुसार, छलफलमा निर्वाचनका सम्पूर्ण तयारी, सुरक्षा व्यवस्थापन र वातावरण निर्माणका विषयमा गम्भीर समीक्षा गरिएको थियो। राष्ट्रपति पौडेल, मन्त्रीहरू र सुरक्षा प्रमुखहरूले चुनाव सहज, शान्त र निष्पक्ष बनाउनका लागि भइरहेका तयारीबारे आपसी जानकारी आदान–प्रदान गरेका थिए।
प्रधानमन्त्री कार्कीले सुरक्षा निकायहरू उच्च मनोबलका साथ तयार रहेको र राजनीतिक तहबाट पनि निरन्तर संवाद र समन्वयको पहल भइरहेको जानकारी दिएकी छन्। उनले राजनीतिक दलहरूबीच आपसी विश्वास र सहकार्य नै स्थायित्व र निकासको आधार हुनेमा जोड दिइन्।