Join our Channel

तोसिमा कार्कीको चेतावनीः “महाशयहरूको सार्वजनिक भण्डाफोर गर्नु नपरोस्”

तोसिमा कार्कीको चेतावनीः “महाशयहरूको सार्वजनिक भण्डाफोर गर्नु नपरोस्”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तोसिमा कार्कीले आफू पार्टीभित्रैबाट नियोजित प्रोपागण्डाको सिकार भएको दाबी गरेकी छिन्।

सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले पार्टीलाई समय सापेक्षिक बनाउन उठाइएको आफ्नो राजनीतिक दृष्टिकोणलाई उल्टो अर्थ्याएर भ्रम फैलाउन खोजिएको आरोप लगाइन्।

तोसिमाले लेखेकी छिन् –

“पार्टीलाई थप सुदृढ बनाऔँ, सफल बनाऔँ, समय सापेक्षिक रूपान्तरण गरौँ भन्ने जिम्मेवार तरिकाले राजनीतिक विषय उठाउँदा गेट आउट भन्ने अनि भन्न लगाउनेहरू, टुलुटुलु हेरेर बस्ने महाशयहरूको सार्वजनिक भण्डाफोर गर्नु नपरोस्।”

‘प्रोपागण्डा र हेपाहा बोलीसँग डर छैन’

कार्कीले आफू आन्दोलनमै प्रहरीको गोलीबीच हिँडेको अनुभव भएकी नेतृ भएको स्मरण गर्दै, प्रोपागण्डा वा हेपाहा शैलीका बोलीसँग “रत्तीभर नडराउने” स्पष्ट संदेश दिइन्।

उनले थप लेखेकी छिन् –

“तिमीहरूले जति गरे पनि राजनीतिक मैदान, मेरा ललितपुरका प्रिय मतदाता र प्यारो पार्टी पङ्क्ति छोडेर भाग्दिनँ। देश बनाउन हिँडेको योद्धा हुँ, लड्छु।”

राजीनामाको अफवाहदेखि पार्टी विभाजनसम्मको आरोप

तोसिमा कार्कीले आफूविरुद्ध कहिले राजीनामा दिने तयारी गरेको, कहिले पार्टी विभाजन गर्ने योजना बनाएको भन्ने गलत प्रचार गरिएको दाबी गरिन्।

उनले चार बुँदामा तयार पारिएको पत्रलाई राम्ररी अध्ययन नगरी, “पार्टी सभापतिको विकल्प खोजियो” भन्दै मिडिया ट्रायल गर्ने प्रवृत्तिले कार्यकर्तामाझ भ्रम फैलाउने प्रयास गरेको आरोप लगाइन्।

‘विशेष अधिवेशन गर्न हिम्मत भए गरोस्’

तोसिमाले संस्थापन पक्षलाई सीधा चुनौती दिँदै भनिन् –

“विकल्प खोज्नेलाई छाड्न हुन्न, पार्टीबाट निकाल्नुपर्छ भनेर मिडिया ट्रायल गर्ने हो भने हिम्मत भए खुला विशेष अधिवेशन गरोस्। पार्टी सभापतिको आशीर्वाद र लाखौँ कार्यकर्ताको मत लिएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट तोसिमा सँग छ।”

Leave a comment