
त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डमा मर्मत तथा ह्युमपाइप बिछ्याउने कामका कारण दुई दिन सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
सडक डिभिजन कार्यालय हेटौंडाका सूचना अधिकारी यादव सुवेदीका अनुसार शुक्रबार र शनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म चार घण्टा सवारी आवागमन रोकिएको हो।
उक्त कार्य रानीभञ्ज्याङ मोड आसपासको क्षेत्रमा भइरहेको छ, जहाँ सडकमा ह्युमपाइप जडान र स्तरोन्नतिको काम जारी छ। उनले भने, “पानी परेकाले काममा केही अवरोध भइरहेको छ, तर निर्धारित समयमा काम सम्पन्न गर्ने प्रयास भइरहेको छ।”
यसअघि मकवानपुर जिल्ला प्रशासन कार्यालयले दुई दिनका लागि दैनिक चार घण्टा सडक बन्द हुने सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको थियो।
यात्रु र स्थानीय सवारी चालकलाई वैकल्पिक मार्ग अपनाउन तथा सूचनाको पालना गर्न प्रशासनले अनुरोध गरेको छ।