
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा शनिबार बिहान माछा मार्ने क्रममा करेन्ट लागेर एक श्रीमान्–श्रीमतीको ज्यान गएको छ।
मृत्यु हुनेमा ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया श्रीमती फूलमाया लिम्बू रहेका छन्। दुवैजनाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन्।
प्रहरीका अनुसार सुन्दरहरैँचा–७ स्थित मदेली खोलाको पुलमुनि माछा मार्ने उद्देश्यले बिजुलीको पोलबाट सिधै ‘हुक’ मार्फत खोलामा करेन्ट प्रवाह गरिएको थियो। सोही क्रममा करेन्ट लाग्दा दुवैको ज्यान गएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
घटनापछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।