
नेकपा एमालेको सचिवालय बैठकमा पहिलो पटक अध्यक्ष केपी शर्मा ओलीको पदबाट राजीनामा माग गरिएको छ। जेन-जी आन्दोलनपछि आइतबार (असोज ११) बसेको बैठकमा सचिवालय सदस्यहरूले ओलीको राजनीतिक धरातल सकिएको र बदलिँदो परिस्थितिमा अब पार्टीका लागि उचित विकल्प ‘स्टप, स्टेप डाउन’ भएको बताएका छन्।
बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा भएको थियो। बैठकका सहभागी सदस्यका अनुसार, सदस्यहरूले ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिएर पार्टीको संरक्षक (अभिभावक)को भूमिकामा बस्न सुझाव दिएका थिए। तर, ओलीले महाधिवेशनबाट नेतृत्व टुंग्याउने मनस्थितिमा देखिएका छन्।
बैठकमा उठेका मुख्य बुँदाहरू
- सचिव योगेश भट्टराईले ओलीलाई राजीनामा दिई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा महाधिवेशनतर्फ जाने धारणा प्रस्तुत।
- जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाले पार्टीको नेतृत्वको औचित्यमा प्रश्न उठाएको उल्लेख।
- बैठकमा मानवीय र भौतिक क्षति, पार्टीको पुनर्गठन र युवा नेतृत्वको आवाज माथि छलफल।
- सचिवालयका अधिक सदस्यले बदलिँदो राजनीतिक परिस्थितिमा ओलीले नेतृत्व हस्तान्तरण गर्दा पार्टी र स्वयंको हित हुने धारणा राखेका थिए।
- केही सदस्यहरूले अध्यक्षको विरोध नगरी इतिहासको सम्मान गर्दै पार्टी र आन्दोलनको उपलब्धि जोगाउनुपर्ने सुझाव।
आगामी कार्यतालिका
- उपमहासचिव सुमन ज्ञवालीका अनुसार छलफल जारी रहेको र असोज १९ र २० गते फेरि सचिवालय बैठक बस्नेछ।
- केन्द्रीय कमिटीको बैठक असोज २७ र २९ गते आह्वान गरिएको छ, जसले महाधिवेशनको टुंगो पनि लगाउने सम्भावना छ।
सचिवालय बैठकमा उपाध्यक्षहरू गुरु बराल, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल र अन्य पदाधिकारीले वर्तमान नेतृत्वप्रति असन्तुष्टि देखाएका थिए। अधिकांशले वर्तमान परिस्थितिमा ओलीको नेतृत्वले पार्टीलाई चुनौतीपूर्ण अवस्थामा पुर्याएको भन्दै नयाँ नेतृत्व खोज्नुपर्नेमा जोड दिएका थिए।