
हालै सत्ताबाट बर्हिगमन भएको नेकपा एमालेले चुनावको तयारी र पार्टी पुनर्स्थापना अभियानमा जोड दिएको छ। महासचिव शंकर पोखरेलले पार्टीका कमी कमजोरी सुधार्दै फेरि बलियो भएर उठ्ने दाबी गरेका छन्।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय निरीक्षण गर्दै पोखरेलले भने, “यो सरकार अन्तरिम भएकाले यसको मुख्य कर्तव्य निर्धारित समयमा चुनाव गराउनु हो। शान्ति सुरक्षा वातावरण तयार गर्दै निर्वाचन सम्पन्न गराउन सरकारको ध्यान जानुपर्छ।”
उनले सबै लोकतान्त्रिक पार्टीहरूले जनताको अभिमत प्राप्त गर्ने कुरामा प्रवेश पाउनु पर्ने बताए। आगामी मध्यावधि निर्वाचन फागुन २१ गते गर्ने घोषणा भइसकेको छ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि एमाले नेतृत्वको सरकार ढलेको थियो। यस क्रममा केन्द्रीय कार्यालय, बालुवाटारस्थित निवास, जिल्लास्तरका नेता–कार्यकर्ताका घरमा आगलागी, तोडफोड र लुटपाट भएको थियो। पोखरेलले ध्वस्त भएको केन्द्रीय कार्यालय निरीक्षण गर्दै भने, “हाम्रो पार्टी झन् बलियो भएर उठ्ने छ। हाम्रा कमी कमजोरी सुधार गर्दै, जनताको भावनालाई सम्बोधन गर्ने सामर्थ्यसहित हामी उठ्नेछौं।”
महासचिव पोखरेलले घटनालाई नेपालको इतिहासमै सबैभन्दा विनाशकारी भने र पार्टीले युवाहरूको चाहना र आकांक्षा पूरा गर्ने योजना बनाइरहेको बेला दुःखद घटना घटेको बताए।
उनले पार्टी पुनर्गठन, सेवा प्रवाहमा प्रभावकारिता र विकासलाई गति दिने, साथै संविधानभित्रै युवाको चाहनाअनुसार सरकार निर्माणको योजना भएको बताए। संविधान कमजोर पार्ने प्रयासको गम्भीर विरोध गर्दै दोषीलाई दण्डित गर्नुपर्ने पनि बताए।
पोखरेलले खरानी बनाएको संरचनामाथि उभिएर संविधान दिवस मनाउने घोषणा गरे। यसपटक संविधानसभाले संविधान बनाएको १० वर्ष पूरा हुने असोज ३ गते पार्टीले क्षतिग्रस्त संरचनाको खालि ठाउँबाट संविधान निर्माणको परिकल्पना साकार पार्ने संकल्प गर्नेछ।