
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले परम्परागत कृषि प्रणालीलाई प्रविधिमैत्री बनाउने समय आएको बताए।
प्रधानमन्त्री ओलीले भने, “आज असार १५, हाम्रो उत्पादन र पसिनाको पर्व, धान दिवस। माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना – यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो।”
उनले थपे, “अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्छ। त्यसका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको छ।”
प्रधानमन्त्री ओली हाल स्पेन भ्रमणमा छन्। तर, विदेशमै रहँदा पनि उनले बाल्यकालको रोपाइँ सम्झिँदै कृषि आधुनिकताको आवश्यकता औंल्याए। उनले सबै नेपालीलाई असार १५, दही चिउरा खाने दिन र धान दिवसको शुभकामना पनि दिएका छन्।
राष्ट्रिय धान दिवस प्रत्येक वर्ष असार १५ गते मनाइन्छ। सन् २००४ (वि.सं. २०६१) देखि सुरु गरिएको यो दिवस धान खेतीको प्रवर्द्धन, खाद्य सुरक्षामा योगदान, र कृषकको मनोबल उच्च बनाउने उद्देश्यले मनाइन्छ। यस वर्षको नाराः ‘धान वालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता’ रहेको छ।