
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियतालाई सकारात्मक रुपमा लिने बताएका छन्।
चीन भ्रमणपछि शनिबार नेपाल फर्किएका खनालले भण्डारीले वामपन्थी एकता आजको आवश्यकता भएको महसुस गरेर राजनीतिमा आउन लागेकी हुन् भने त्यो पहल स्वागतयोग्य हुने बताएका हुन्।
उनले भने, “नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह अहिले नेकपा एमाले हो। यदि एमालेले सबै वामपन्थी दलहरुलाई एकताबद्ध गर्न चाहन्छ भने ठूला स्तरको एकता सम्भव छ। अहिले जे समस्याबाट एमाले गुज्रिरहेको छ, त्यसलाई विद्या भण्डारीले महसुस गरेर एमाले प्रवेश गर्छु, अध्यक्ष बन्छु र वाम एकता अघि बढाउँछु भन्नु भएको हो भने म यसलाई सकारात्मक रूपमा लिन्छु।”
खनालले पूर्वउपप्रधानमन्त्री वामदेव गौतमको वाम एकताको पहललाई समेत स्वागत गरेका छन्। उनले वैज्ञानिक समाजवाद र क्रान्तिकारी विचारधाराका आधारमा वामपन्थी शक्तिहरू एक ठाउँमा आउने हो भने त्यसलाई आफूले सकारात्मक रूपमा लिने बताए।