
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले हाल चर्चामा रहेको भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग तुलना गर्नु उपयुक्त नहुने बताएका छन्।
संसद भवनमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले भने, “धेरै नेपालीहरू आफ्नै इच्छाले भिजिट भिसाबाट विदेश गएका छन्, त्यसैले यसलाई मानवतस्करीसँग जोडेर हेर्न मिल्दैन।”
उनका अनुसार, यो विषयमा अख्तियारले हाल अनुसन्धान गरिरहेको छ तर अहिलेसम्म कुनै अभियोग दर्ता भएको छैन। यस्तो अवस्थामा कसैलाई दोषी ठहर गर्नु गलत हुने उनले बताए।
भिजिट भिसा प्रकरणमा अनावश्यक मागहरू राखिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फिर्ता हुन गाह्रो भइरहेको भन्दै उनले वार्तामार्फत सहमति जुटाएर समस्या समाधान गर्नुपर्ने धारणा राखे।
प्रमुख सचेतक घिमिरेले हाल संसदमा देखिएको अवरोध केही दिनमै अन्त्य हुने विश्वाससमेत व्यक्त गरे।