
शिक्षक महासंघसँग भएको सहमति अनुसार असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने भनिएको प्रतिवद्धता सरकारले पुरा गर्न सकेको छैन। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विधेयक पारित गरेर प्रतिनिधिसभामा पेश नगरिएकाले उक्त विधेयक आज पारित नहुने निश्चित भएको हो।
शिक्षक महासंघसँगको ९ बुँदे सहमतिमा तत्कालीन शिक्षामन्त्री रघुजी पन्तले हस्ताक्षर गरेका थिए। सहमति मन्त्रिपरिषद्बाट समेत अनुमोदन भएको थियो भने प्रमुख दलका प्रमुख सचेतकहरू—नेपाली कांग्रेसका श्यामकुमार घिमिरे, एमालेका महेश बर्तौला र समितिका सभापति अम्मरबहादुर थापाले समेत हस्ताक्षर गरेका थिए।
विद्यालय शिक्षा ऐन र शिक्षकको सेवासुविधा सुनिश्चित गर्न माग गर्दै शिक्षकहरूले २९ दिनसम्म काठमाडौंमा आन्दोलन गरेका थिए। त्यसपछि सरकारले सहमति गर्दै असार १५ भित्र विधेयक पारित गर्ने वाचा गरेको थियो।
यद्यपि आज दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा शिक्षा विधेयक समावेश छैन। संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा संघीय निजामती सेवा विधेयक पारित गर्ने एजेन्डा छ।
यसअघि असार ३ गते संसद् बैठकमा उक्त विधेयक पारित गर्ने तयारी गरिए पनि रास्वपाको अवरोधका कारण बैठक स्थगित भएको थियो। विधेयक पारित भएपछि मात्र राष्ट्रिय सभामा पठाइने प्रक्रियामा जानेछ।