
यमनका हुथी विद्रोहीहरूले इजरायली आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालिब अल-रहावीको मृत्यु भएको दाबी गरेका छन्। गाजामा इजरायल–प्यालेस्टाइन संघर्षका दौरान यो हुथी समूहका लागि सबैभन्दा ठूलो क्षति भएको उल्लेख गरिएको छ। यद्यपि, यो दाबी स्वतन्त्र स्रोतबाट पुष्टि हुन सकेको छैन।
समाचार एजेन्सी रोयटर्सका अनुसार, शनिबार हुथी समूहको सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल-मशातले यो घोषणा गरेका छन्। बिहीबार राजधानी सानामा भएको आक्रमणबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन, तर केही अन्य व्यक्तिहरू घाइते भएको बताइएको छ।
एएफपीका अनुसार अल-रहावीलाई अन्तिमपटक बुधबार सानामा आयोजित सार्वजनिक कार्यक्रममा देखिएको थियो। हुथी विद्रोहीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी योद्धा अहमद गालिब नासिर अल-रहावीको निधन भएको घोषणा गर्दछौं। उनका धेरै सहयोगीहरूसहित उनको मृत्यु भएको छ। उनलाई इजरायलले लक्षित गरेको थियो।”
यसअघि इजरायलले सानामा इरान समर्थित हुथी समूहका उच्च अधिकारीहरू, जसमध्ये चीफ अफ स्टाफ र रक्षा मन्त्री पनि, लक्षित गरेको दाबी गरेको थियो। तर महदी अल-मशातको बयानमा मारिएका अधिकारीहरूमा रक्षा मन्त्री परेका छन् कि छैनन् भन्ने स्पष्ट छैन।
अहमद अल-रहावी करिब एक वर्षअघि प्रधानमन्त्री बनेका थिए, तर वास्तविक सत्ता उनका उप-प्रधानमन्त्री मोहम्मद मुफ्ताहको हातमा रहेको बताइन्छ। शनिबार, उप-प्रधानमन्त्री मुफ्ताहलाई औपचारिक रूपमा प्रधानमन्त्रीको कार्यभार हस्तान्तरण गरिएको छ।