
सरकारले चालु आर्थिक वर्षको हालसम्म तीन नयाँ प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागले अनुमति दिएको हो।
सबैभन्दा महत्वपूर्ण मानिएको नलगाड–मैनताडा प्रसारण लाइन भेरी करिडोरमार्फत राष्ट्रिय ग्रिडमा बिजुली जोड्नका लागि स्वीकृत गरिएको छ।
७५ किलोमिटर लम्बाइको यो प्रसारण लाइनको क्षमता ४०० केभी रहेको छ र यसमार्फत २,४०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सकिने विभागले जनाएको छ। उक्त परियोजनाको निर्माण कार्य राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले अघि बढाइरहेको छ।
यस्तै, ३३ केभी क्षमताको खोरुङगा खोला प्रसारण लाइन निर्माणका लागि पनि अनुमति दिइएको छ।
चार दशमलव ३८ किलोमिटर लम्बाइको यो लाइनले ४.८ मेगावाट बिजुली प्रवाह गर्न सक्नेछ, जसले स्थानिय जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीलाई राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य लिएको छ।
त्यस्तै, सुपर सर्दी खोला हाइड्रोपावरले उत्पादित बिजुली प्रणालीमा जोड्नका लागि ३३ केभी क्षमताको तीन दशमलव ६८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्न अनुमति पाएको छ। उक्त लाइनमार्फत २.९ मेगावाट बिजुली प्रवाह हुने अपेक्षा गरिएको छ।
विद्युत् विकास विभागका अनुसार हालसम्म २७४ वटा साना–ठूला प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र प्रदान गरिसकिएको छ।
त्यस्तै, चालु आर्थिक वर्षमा हालसम्म ८ वटा प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमति पनि दिइएको छ। ती आयोजनामा १३२ केभी क्षमताको मध्य चमेलिया, बेल्डिया सोलार पावर परियोजना, फालेखु खोला १३२ केभी लाइन, जानकी सोलार पावर लाइन, दुधकोशी पाँचौं २२० केभी लाइन, र समुन्द्रटार–लप्सेफेदी २३२ केभी लाइन समेत रहेका छन्।