
बेलायतको क्याम्ब्रिजशायर क्षेत्रमा चलिरहेको रेलभित्र चक्कु आक्रमण हुँदा नौ जना गम्भीर घाइते भएका छन्।
ब्रिटिश यातायात प्रहरीले दिएको जानकारी अनुसार, डोनकास्टरबाट किङ्स क्रसतर्फ जाँदै गरेको रेलमा सोमबार राति यात्रुहरूबीच अचानक विवादपछि आक्रमण भएको हो।
बीबीसीका अनुसार, आक्रमणमा परेका १० मध्ये नौ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई नजिकैका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।
‘ठूलो घटना’ घोषणा, आतंकवाद विरोधी अनुसन्धान सुरु
प्रहरीले यस घटनालाई “Major Incident (ठूलो घटना)” घोषणा गरेको छ।
आतंकवाद विरोधी विभागका अधिकारीहरूले पनि यस घटनाको कारणबारे अनुसन्धान सुरु गरेका छन्।
ब्रिटिश यातायात प्रहरीका प्रमुख सुपरिटेन्डेन्ट क्रिस केसीले यो घटना ‘स्तब्ध पार्ने आक्रमण’ भएको बताएका छन्।
उनका अनुसार अहिले रेल सेवाहरू स्थगित गरिएको छ भने आसपासका सडकहरू पनि अर्को सूचना नआएसम्म बन्द राखिने छन्।
दुई जना पक्राउ, अनुसन्धान जारी
घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ।
पक्राउ परेका व्यक्तिहरू हाल प्रहरी हिरासतमा रहेका छन्।
प्रहरीका अनुसार, आक्रमणको उद्देश्य र योजनाबारे अझै स्पष्ट विवरण आइनसकेको छैन।
ब्रिटिश गृह मन्त्रालयले यात्रुहरूको सुरक्षाका लागि अतिरिक्त सुरक्षा बल परिचालन गरिएको र यात्रुहरूलाई सचेत रहन आग्रह गरेको छ।