
नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूका लागि हवाई टिकटमा ठूलो छुट दिने निर्णय गरेको छ। आइतबार महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूबीच यसबारे सहमति भएको हो।
बैठकले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत,
७५ वर्षभन्दा माथिका नागरिकलाई ७० प्रतिशत, र
८० वर्षभन्दा माथिका नागरिकलाई ८० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ।
यस्तै, फरक क्षमता भएका हवाई यात्रुहरूलाई पनि न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
यो नयाँ व्यवस्था आइतबारदेखि नै कार्यान्वयनमा ल्याइएको छ। अब ज्येष्ठ नागरिक र फरक क्षमता भएका नागरिकहरूले आन्तरिक उडानमा थप सहज र किफायती यात्राको अनुभव गर्न सक्नेछन्।