
अमेरिकी ई-कमर्स कम्पनी अमेजनले भारतमा सन् २०२५ सम्ममा २३३ मिलियन डलर (२ हजार करोड भारतीय रुपैयाँभन्दा बढी) लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले देशभरि आफ्नो सेवा विस्तार, पूर्वाधार सुदृढीकरण र नयाँ प्रविधिमा लगानी गर्दै डेलिभरी सेवा अझ प्रभावकारी बनाउने योजना अघि सारेको हो।
अमेजनले फुलफिलमेन्ट सेन्टर, सर्टेसन युनिट, र डेलिभरी सञ्जाल सुधार गर्ने उद्देश्यले नयाँ कारखाना स्थापना गर्नेछ भने पहिलेका स्थानहरूको स्तरोन्नति पनि गर्ने जनाएको छ। कम्पनीको भनाइअनुसार, यस लगानीले तेज डेलिभरी, सामानको छिटो प्रशोधन, र समग्र सेवा सुधार गर्न मद्दत गर्नेछ।
सामाजिक उत्तरदायित्वमा समेत ध्यान
अमेजनले आफ्ना कर्मचारी र साझेदारहरूको स्वास्थ्य, वित्तीय अवस्था तथा सामाजिक हित सुधार गर्न समेत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
मुख्य कार्यक्रमहरूमध्ये:
- “आश्रय”: डेलिभरी कर्मचारीलाई आराम गर्ने स्थान, शौचालय, पिउने पानी र चार्जिङ सुविधा सहित सेवा।
- “समृद्धि”: चालकहरूलाई वित्तीय साक्षरता र वित्तीय सहायता प्रदान गर्ने योजना।
- “प्रतिनिधि”: कर्मचारीका बालबालिकालाई छात्रवृत्तिसहितको सहयोग।
- “सुश्रुत”: ट्रक चालकहरूको स्वास्थ्य सेवा आवश्यकताहरू सम्बोधन गर्ने कार्यक्रम।
इन्डियन एक्सप्रेसको अनुसार, अमेजनले २०२५ को अन्त्यसम्म ८० हजारभन्दा बढी कर्मचारी र साझेदारहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण गराउने योजना पनि बनाएको छ।
भारतीय बजारमा प्रतिस्पर्धा बढ्दो
अमेजनले यसअघि सन् २०३० सम्म भारतमा कुल २६ अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरिसकेको छ। भारतमा अमेजनको मुख्य प्रतिस्पर्धीहरूमा वालमार्टको फ्लिपकार्ट र मुकेश अम्बानीको रिलायन्स रिटेल रहेका छन्।