
अर्घाखाँची जिल्लाका पाँच स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरेका छन्। जिल्लाका छ वटै पालिकामध्ये भूमिकास्थान नगरपालिका बाहेक सन्धिखर्क, शितगंगा, मालारानी, पाणिनि र छत्रदेवले बजेट सार्वजनिक गरेका हुन्। भूमिकास्थान नगरपालिकाले भने मंगलबारसम्म आन्तरिक तयारी नपुगेको भन्दै बुधबार बजेट सार्वजनिक गर्ने जनाएको छ।
सन्धिखर्क नगरपालिकाले १ अर्ब ११ करोड १४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगर उपप्रमुख मिश्रा आचार्यले नगर सभाको १८औं अधिवेशनमा बजेट सार्वजनिक गर्दै कृषि उत्पादनको ब्राण्डिङ, प्याकेजिङ र बजारिकरणमार्फत रोजगारी सिर्जना गर्ने योजना अघि सारे। लुम्बिनी प्रदेशको सहयोगमा धान, मकै, कोदो, जुनेलो, झिलिङी, गहत लगायत बाली प्रवर्द्धन गरी पालिकालाई खाद्य आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।
शितगंगा नगरपालिकाले ९३ करोड ६७ लाख ५० हजार रुपैयाँको बजेट प्रस्तुत गर्दै कृषि उद्यम, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिएको छ। सहकारीहरूसँगको समन्वयमा सबै वडामा कृषि तथा पशु विकास कार्यक्रम सञ्चालन गरिने उपप्रमुख गीता भाटले जानकारी दिइन्।
मालारानी गाउँपालिकाले ६२ करोड ९२ लाख ५१ हजार रुपैयाँको बजेटमार्फत कृषि, पर्यटन र शिक्षा क्षेत्रमा लगानी गर्दै एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने योजना अघि सारेको छ। सुन्तला, फलफूल, कोदो खेतीलाई विस्तार गरी बाँझो जमिन प्रयोगमा ल्याउने योजना छ।
पाणिनि गाउँपालिकाको ७२ करोड २० लाख ७४ हजार रुपैयाँको बजेटमा युवालाई कृषि उद्यममा आकर्षित गर्ने, पूर्वाधार निर्माण, खेलकूद गतिविधि र शिक्षामा सुधारको लक्ष्य राखिएको छ।
छत्रदेव गाउँपालिकाले ५४ करोड ९ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै शिक्षा गुणस्तर वृद्धिसँगै कृषि उद्यमलाई निरन्तरता दिने बताएको छ। उपाध्यक्ष मनी पन्थीका अनुसार, पुराना योजनाहरूलाई निरन्तरता दिँदै नयाँ परियोजनालाई समेत जोडिएको छ।
यी पाँच पालिकाको बजेटमा धेरैजसो योजना कृषि, पशुपालन, शिक्षा र पूर्वाधारमा केन्द्रित छन्। स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहितका योजनाले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा गरिएको छ।