
सशस्त्र प्रहरीले पर्साको पोखरिया नगरपालिका–७, जगतपुर मननपुर गाउँबाट सोमबार बिहान ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ।
सशस्त्र प्रहरी प्रसौनीभाठा बीओपीका प्रहरी निरीक्षक चेतन बाह्रकोटीको कमाण्डमा खटिएको ६ सदस्यीय मोटरसाइकल गस्ती टोलीले बिहान १ बजे बाख्रा राख्ने फुसको छाप्रोमा घेरा हाली सर्च गर्दा १९ किलो १२६ ग्राम चरेस फेला पारेको हो।
बरामद चरेस दुईवटा कालो झोलाभित्र कार्टुनमा राखिएको अवस्थामा भेटिएको थियो भने चरेसको साथमा कुनै व्यक्ति भने फेला परेको छैन।
सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार बरामद चरेसलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ।
तस्करीको मुख्य बाटो
पर्सा जिल्लाका ग्रामीण भेग हुँदै भारततर्फ गाजा र चरेस तस्करी हुने गरेको छ।
- विशेषगरी मकवानपुरमा उत्पादन हुने गाजा र चरेस पर्सा हुँदै भारत लैजाने चलन छ।
- पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्र तथा खोलाको बाटो तस्करका लागि सहज हुने भएकाले प्रायः यही बाटो प्रयोग गरिन्छ।
- समयमा समयमा भारततर्फ जाने मालबाहक सवारी साधनमार्फत पनि लागुऔषध तस्करी हुने गरेको प्रहरीले जनाएको छ।