Join our Channel

भारतले किन्ने भयो अरुण–३ को बिजुली, नेपाललाई १९७ मेगावाट निःशुल्क

भारतले किन्ने भयो अरुण–३ को बिजुली, नेपाललाई १९७ मेगावाट निःशुल्क

नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना मानिएको अरुण–३ बाट उत्पादन हुने बिजुली भारतले किन्ने भएको छ। भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् विकास निगम (एसजेभीएन) ले उत्तर प्रदेश पावर कर्पोरेसन लिमिटेड (यूपीपीसीएल) सँग ९०० मेगावाटको बिजुली खरिद गर्ने सम्झौता गरेको हो।

सम्झौतामा एसजेभीएनका ऊर्जा व्यापार महाप्रबन्धक आरके गुप्ता र यूपीपीसीएलका निर्देशक दीपक राइजादाले हस्ताक्षर गरेका छन्। सम्झौतामा कम्पनीका अध्यक्ष भूपेन्द्र गुप्ता र आयोजना निर्देशक सुशील शर्मा समेत सहभागी थिए। उत्पादन हुने बिजुली उत्तर प्रदेशमा खपत हुनेछ।

एसजेभीएन अध्यक्ष गुप्ताले यो सम्झौता स्वच्छ ऊर्जा प्रवर्द्धन र सहरी क्षेत्रमा ऊर्जा आपूर्ति सुदृढीकरणका लागि महत्वपूर्ण भएको बताए। अहिले संखुवासभामा एसजेभीएनको सहायक कम्पनी एसएपीडीसीले अरुण–३ को निर्माण कार्य गरिरहेको छ। सन् २०२७/२८ भित्र आयोजना निर्माण सकिने अनुमान छ।

यसअघि एसजेभीएनले अरुण–३ को २०० मेगावाट बिजुली भारतकै दामोदर भ्याली कर्पोरेसन (डीभीसी) लाई बेच्ने सम्झौता गरिसकेको छ। साथै, नेपाल सरकारले अरुण–३ बाट उत्पादित १९७ मेगावाट निःशुल्क पाउनेछ।

हाल आयोजनाको ७४.६ प्रतिशत उत्पादन प्रगति र ५४.४० प्रतिशत प्रसारण लाइनको प्रगति भइसकेको छ। आयोजना लागत करिब १ सय ४४ अर्ब रुपैयाँ रहेको छ।

यसबाहेक, अरुण–३ को व्यावसायिक उत्पादन मिति (सीओडी) सर्ने सम्भावना देखिएको छ। लगानी बोर्डको ६३औं बैठकले म्याद थपका लागि परियोजना समीक्षा कार्यदल गठनको सिफारिस सरकारलाई पठाइसकेको छ। कम्पनीले १८ महिनासम्म सीओडी म्याद थप गर्न माग गरेको छ।

सन् २००८ मा एसजेभीएनले प्रतिस्पर्धाबाट आयोजनाको लाइसेन्स लिएको थियो। सन् २०१४ मा आयोजना विकास सम्झौता (पीडीए) भएपछि सन् २०१८ मा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गरेका थिए।

पीडीए अनुसार, आयोजना सुरु भएपछि नेपालले २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट निःशुल्क पाउनेछ। साथै, १५ वर्षसम्म ७ प्रतिशत र त्यसपछि १० वर्ष १२ प्रतिशत ऊर्जा रोयल्टी नेपाललाई बुझाउनुपर्नेछ। निर्माण सकिएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ।

वार्षिक ४ अर्ब १ करोड ८० लाख युनिट बिजुली उत्पादन हुने अपेक्षा गरिएको छ।

Leave a comment