Join our Channel

हिल्टन प्रकरण: पत्रकार पाठकलाई २५ हजार धरौटीमा रिहा

हिल्टन प्रकरण: पत्रकार पाठकलाई २५ हजार धरौटीमा रिहा

चर्चित पत्रकार दिलभुषण पाठकलाई जिल्ला अदालत काठमाडौंले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश खेमराज भट्टको इजलासले आज बिहीबार साइबर अपराधसम्बन्धी मुद्दामा अदालतमा उपस्थित भएका पाठकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरेपछि पत्रकार पाठक अदालत पुगेका थिए।

आजै भएको थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। सरकारी वकिलको कार्यालय, काठमाडौंले परिवर्तित नाममा दर्ता भएको उजुरीका आधारमा सोमबार मुद्दा दायर गरेको थियो।

सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता पूर्णेन्द्र पाण्डेयले पाठकलाई विद्युतीय कारोबार ऐन, दफा ४७ अनुसार कारबाही गर्न माग गर्दै अभियोग दायर गरेका थिए। उक्त ऐनअनुसार दोषी ठहरिएमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद, वा दुबै सजाय हुन सक्छ।

यसअघि पत्रकार पाठकलाई फरार सूचीमा राखिएको थियो।

पत्रकार दिलभुषण पाठकले आफ्नो चर्चित कार्यक्रम ‘टफ टक’ मार्फत हिल्टन होटलको सेयर किनबेचमा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणा देउवाका छोरा जयवीर सिंह देउवाको संलग्नता रहेको भन्दै ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा भिडियो सार्वजनिक गरेका थिए।

उक्त विषयलाई लिएर जयवीर सिंह देउवाले साइबर ब्युरोमा उजुरी दिएका थिए। यसअघि उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश दिएको थियो।

Leave a comment