Join our Channel

एसिया कप २०२५: अफगानिस्तान ८ रनले पराजित, बंगलादेश शीर्ष ४ को दौडमा

एसिया कप २०२५ अन्तर्गत समूह बीको रोमाञ्चक खेलमा बंगलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गरेको छ। अन्तिम ओभरसम्म तानिएको खेलमा बंगलादेशले पहिलो पटक टी–२० अन्तर्राष्ट्रियमा अफगानिस्तानलाई हराउँदै शीर्ष ४ मा पुग्ने सम्भावना कायमै राखेको हो।

अबुधाबीस्थित जइद क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाउँदै १५४ रन बनायो। त्यसको जवाफमा अफगानिस्तानले १५५ रनको लक्ष्य पछ्याउँदै अन्तिम बलमा अलआउट हुँदै १४६ रनमै सीमित रह्यो।

अफगानिस्तानतर्फ हमानुल्लाह गुरबाजले सर्वाधिक ३५ रन बनाए भने अज्मतुल्ला ओमरजाईले ३० रन योगदान गरे। कप्तान रसिद खानले २० रन जोडे। तर टिमलाई जित दिलाउन सकेनन्।

बलिङतर्फ बंगलादेशका मुस्तफिजुर रहमानले ३ विकेट लिए। नसुम अहमद, तास्किन अहमद र रसिद होसेनले समान २–२ विकेट हात पारे।

बंगलादेशतर्फ ब्याटिङमा तान्जीन हसनले ५२ रनको अर्धशतकीय पारी खेले। उनले ३० बलमा ४ चौका र ३ छक्का प्रहार गरे। शैफ हसनले ३० रन, तोहीद रिडोएले २६ रन बनाए भने जाकर अलि र नुरुल हसन समान १२–१२ रनमा अविजित रहे।

अफगानिस्तानतर्फ बलिङमा रसिद खान र नुर अहमदले समान २–२ विकेट लिए। अज्मतुल्ला ओमरजाईले १ विकेट थपे।

अंकतालिकामा बंगलादेशको सम्भावना

यो जितसँगै बंगलादेश समूह बीमा ३ खेलमा २ जितसहित दोस्रो स्थानमा उक्लिएको छ। अफगानिस्तान भने २ खेलमा १ जित र १ हारसहित तेस्रो स्थानमा छ। अझै एक खेल बाँकी भएकाले अफगानिस्तानको सुपर फोरमा पुग्ने सम्भावना कायमै छ।

यसै समूहमा श्रीलङ्का दुई खेलमै जित निकाल्दै शीर्ष स्थानमा छ भने हङकङ पुछारमा पुगेको छ र शीर्ष ४ मा पुग्ने सम्भावना सकिएको छ।

समूह एमा भारत दुई खेलमै जित निकाल्दै शीर्ष स्थानमा छ। पाकिस्तान र युएई दुवैले १–१ जित र १–१ हार व्यहोरेका छन् भने ओमान दुई खेलमै हार व्यहोरेर अन्तिम स्थानमा छ। आज समूह एमा पाकिस्तान र युएई भिड्दै छन्, जसको विजेताले सुपर फोरमा स्थान पक्का गर्नेछ।

Leave a comment