
चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनामा वाणिज्य बैंकहरूले लागू गर्ने ब्याजदर झन् घटेको छ। बैंकिङ प्रणालीमा लगानीभन्दा बढी निक्षेप संकलन भएको र कर्जाको माग सुस्त रहेकाले ब्याजदर महिनैपिच्छे तल झर्दै गएको हो।
नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज महिनामा साधारण बचत खातामा न्यूनतम २.७५ प्रतिशत र अधिकतम ३.८१ प्रतिशत ब्याजदर कायम गरिएको छ। व्यक्तिगत मुद्दती निक्षेपमा न्यूनतम ३.३९ प्रतिशतदेखि अधिकतम ५.४६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ।
गत भदौ महिनामा साधारण बचत खातामा न्यूनतम २.७६ प्रतिशत र अधिकतम ३.८४ प्रतिशत ब्याजदर थियो भने व्यक्तिगत मुद्दती निक्षेपमा न्यूनतम ३.४९ प्रतिशतदेखि अधिकतम ५.५९ प्रतिशतसम्म ब्याजदर कायम थियो।
यसरी अघिल्लो महिनाको तुलनामा असोजमा ब्याजदर झिनो मात्र घटाइएको छ। लामो समयदेखि बैंकहरूसँग लगानीयोग्य पूँजी बढी (तरलता) रहँदै आएको र मौद्रिक नीतिले ब्याजदर करिडोरको सीमा तल झारेपछि निक्षेपको ब्याजदर निरन्तर घटिरहेको नेपाल बैंकर्स संघले जनाएको छ।
कुन बैंकले कति ब्याज ?
नेपाल बैंकर्स संघका अनुसार असोजमा सबै वाणिज्य बैंकले बचत खाताको ब्याजदर केही अंशले घटाएका छन्। व्यक्तिगत मुद्दती निक्षेप (एफडी) ब्याजदर पनि अधिकांश बैंकले घटाएका छन्।
- अधिकतम ६% ब्याज दिने बैंकहरू: एनआईसी एशिया, ग्लोबल आइएमई, हिमालयन, माछापुच्छ्रे, एनएमबी
- सरकारी बैंकहरू: नेपाल बैंक (५.२५%), राष्ट्रिय वाणिज्य बैंक (५.५%), कृषि विकास बैंक (५.०५%)
- अन्य प्रमुख बैंकहरू: स्ट्याण्डर्ड चार्टर्ड (५.१८%), नबिल बैंक (५.५%), नेपाल इन्भेस्टमेन्ट मेगा (५.२५%), लक्ष्मी सनराइज (५.२५%), प्रभु (५.३५%), सिद्धार्थ (५.५%), प्राइम कमर्सियल (५.५%)
यद्यपि केही बैंकले ब्याजदर स्थिर राखेका छन् भने माछापुच्छ्रे बैंकले साधारण बचतमा ब्याजदर बढाएको छ।
ब्याजदर घट्ने कारण
नयाँ मौद्रिक नीतिले ब्याजदर करिडोरको माथिल्लो सीमा ६.५% बाट ६% मा र तलको सीमा ३% बाट २.७५% मा झारेपछि निक्षेप ब्याजदर अझै तल झर्ने अनुमान गरिएको थियो। बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार, बैंकिङ प्रणालीमा तरलता बढ्दो क्रममा रहेकाले निक्षेप ब्याजदर घट्ने क्रम जारी रहने देखिन्छ।